चम्ल्याहा बच्चा जन्माएका दम्पतीको बिलौना : यी तीन नबाँचे हामी निःसन्तान हुन्छौँ
काठमाडौं फागुन २७ ।एक बच्चा आमा गीता कुँवर (२६)को काखँमा दुध चुस्दै, अर्का आगन्तुकको काँखमा । अर्को बच्चालाई काखमा च्यापेका बाबु जनक कुँवरले घोप्टोमुण्टो लगाएर रुँदै भने ‘हिँजोसम्म चारजना थिए, एउटा बचाउन सकेनौँ, यी पनि बचाउन सकिएन भने त हामी निःसन्तान हुन्छौँ ।’
बुधबार राजधानीस्थित ग्रिन सिटी अस्पतालको एक शैयामा गुल्मी जैसिथोकका चम्ल्याहा बच्चाका बाबुले यसरी पिडा पोख्दै गर्दा आगन्तुकले पनि मन थाप्न सकेनन् । गृह मन्त्रालयका उपसचिव बाबुराम भण्डारी, ग्रिन सिटी अस्पतालका प्रमुख लोक बहादुर टण्डन र एमाओवादी नेता बुद्धि जिसिको पनि आँखा रसाए । उनीहरुले सान्त्वना दिँदै भने ‘नआत्तिनुस्, हामी सहयोग गर्छौँ ।’
गएको पुस अन्तिम साता चम्ल्याहा बच्चा जन्माएका जनक र गीताले बुधबार बिहानै सबैभन्दा कान्छो बच्चा गुमाएपछिको पिडा हो यो ।
उपचारका लागि काठमाण्डौ पु¥याएका बेला बिरामी बच्चाको मृत्यू भयो । त्यसपछि अरु बच्चापनि बचाउन सकिँदैन कि भन्ने पिडाले उनीहरुलाई पिरोलिरहेको छ । ‘चार बजे उठेर दुध खुवाएर पाँचबजे सुतेको बच्चा बिहान अवेरम्म नउठेपछि उठाउन खोज्दा चिसो थियो’ बाबु जनकले भावुक हुँदै भने ‘माथि आईसियूमा लैजाँदा डक्टरले छैन भन्नुभो, अव भोलिका दिनमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसलाई के’था ?’
अस्पतालकी डा शिला अर्यालका अनुसार यसरी अचानक केही कारण नै नदेखिई हुने मृत्यूलाई ‘सडन ईम्प्याक्ट डेथ सिन्ड्रोम’ (एसआईडिएस) भनिन्छ । यद्यपी बाँकी बच्चाको स्वास्थ्य अवस्था भने राम्रो रहेको उनको भनाई छ ।
‘नौ महिना नपुगि जन्मेका भएपनि तीनजनाको तौल एकदम राम्रो छ’, उनले भनिन् ‘राम्रो स्याहार सुसार गर्नुपर्ने हो, तर स्वास्थ्यबारे चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन ।’
तर डाक्टरले उपचार गर्दागर्दै केही जटिल समस्या नदेखिई एक्कासी एउटा सन्तान गुमाउनु परेका जनक र गीता भने कतै फेरि पनि सन्तान गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले बारम्बार भावुक भइरहन्छन् । त्यसैले त उनीहरु डा अर्यालको भनाईमा विस्वस्त हुन सकिरहेका छैनन् ।
त्यसको कारण हो अघिल्लो पटक पनि उनीहरुले जुम्ल्याहा बच्चा जन्माएर दुवैजनालाई ८ दिनमा गुमाए । ‘२०७० सालमा पनि आठ महिनामा जन्मेर दुइजना नै ८ दिनमा गुमाउनुप्यो’ जनकले भने ‘ हे भवगान ! यिनिहरुलाई कसले कसरी बचाईदेला ?’
उनीहरुले बुधबार गुमाएको बच्चाको आँखामा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज पाल्पाबाट काठमाण्डौ ल्याएका हुन् । ग्रिन सिटी अस्पतालले अहिले उनीहरुलाई २१ दिन सम्म निःशुल्क हेरचाह र स्वास्थ्य उपचार गर्ने भनेर राखेको छ । ‘गृह मन्त्रालयमा पुगेको बेला बाबुराम भण्डारी (उपसचिव) सरले मलाई उनीहरुको बारेमा जानकारी गराउनुभयो अनि मैले उहाँहरुलाई तीन हप्ता राख्ने भनेर यहाँ राखेको छु’ अस्पतालका प्रमुख टण्डनले भने ‘तर स्वास्थ्य अवस्था हेरी थप समय पनि राख्न सकिन्छ ।’
ग्रिनसिटीले बच्चाको स्वास्थ्य उपचारसंगै बाबु आमा र संगै रहेका आफन्तलाई पनि खाने वस्ने व्यवस्था गरेको छ ।
चम्ल्याहा बच्चा जन्माएर हुर्काउन र बचाउन समस्या भन्ने समाचार आईसकेपछि पूर्व मुख्य सचिव लिलामणी पौडेलको पहलमा गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिदिएका छन् । पौडेल पनि गुल्मीबासी हुन् ।
राबाबैंकमा गीता अर्थात सकुना कुँवरको नाममा २८०८१ नम्बरको उक्त खातामा माघ २५ सम्म ५५ हजार ७ सय ५० रुपैयाँ संकलन भएको छ ।
त्यसमा देश विदेशबाट रकम जम्मा गर्न सकिने कडेलले बताए ।
यसो त नविल बैंकमा पनि जनक कुँवरको नाममा १५१००१७५०४८६४ नम्बरको खातामा सञ्चालनमा ल्याइएको छ ।
धेरैलाई अस्पपलमा हुञ्जेल मात्र उपचार खर्चका लागि सहयोग गर्नुपर्ने धारणा रहेकोले त्यसपछिको कसरी बचाउने भन्ने विषयमा सोचिदिन अस्पपलमा समन्वय गरीरहेका एमाओवादी नेता बुद्धि जिसीले आग्रह गरे । ‘अस्पतलमा मात्र सहयोग गर्ने हो भन्ने धेरैको सोँच छ, तर उहाँहरुको त्समस्या भनेको अस्पपलबाट निकालेपछि अस्पतलको नजिकै राखेर कसरी हुर्काउने भन्ने हो ’ उनले भने ‘त्यसैले सहयोग दाताहरुले अलि लामो समयका लागि सोँचेर पालणपोषणका लागि सहयोग गीरदिनुभयो भने राम्रो हुन्छ ।’
अस्पतलमा बस्दा सम्म सहयोग भएपनि त्यसपछि भने उनीहरुलाई कसरी बँचाउने भन्ने पिडा जनक र गीतालाई छ । सहरमा बसेर हुर्काउन आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र गाउँ सदरमुकामबाट अलि टाढा भएकोले विरामी भईहाले उपचारमा समस्या हुने भएकोले अस्पपलबाट निस्केपछि के गर्ने कसो गर्ने भन्ने चिन्ता उनीहरुलाई छ । ‘यहाँ बसौँ पैसा छैन, गाउँमा जाउँ विरामी भईहाले तत्काल उपचार गर्न कहाँ लैजाने ?’ आमा गीताले भनिन् ‘अव कसरी बँचाउने भन्ने चिन्ताले पिरोलिरहन्छ ।’ अस्पत्तालकी डा. अर्याला अनुसार आमाले सुरक्षित राख्न सक्छु भन्ने आँट गरेपछि बच्चाहरुलाई अस्पत्तालले डिस्चार्ज गरीदिन सक्छ ।
तर कुँवर दम्पतीमा त्यो आँट नपलाउनुको कारण यी बच्चाहरु बँचाउन सकेनन भने उनीहरु निःसन्तान हुन सक्ने डर छ । आमा गीताको स्वास्थ्यअवस्था जाँच गराउँदा पाठेघर सुन्निएको देखिएकोले पनि उनिहरु बढी डराएका छन् ।
‘एक त अप्रेसन गरेर चारवटा बच्चा जन्माएकोले फेरी बच्चा जन्माउँदा समस्या हुनसक्छ भनेको छ’ जनकले भने ‘फेरी हिजो जाँच गराउँदा पाठेघर सुन्निएको भनेकोले यदी हामीले यीनलाई बँचाउन सकेनौँ भने निःसन्तान हुन्छौँ।’ - ratopati